FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

रामेछाप नेपालको ३ नं प्रदेशको जनकपुर अञ्चलमा अवस्थित हिमाली जिल्ला हो । राजधानीबाट नजिक भएपनि सेवा सुविधाको हिसाबले एक विकट क्षेत्र हो । राजधानीले छोएको काभ्रेपलाञ्चोक जिल्ला चिनसँग सिमाना जोडिएको दोलखा र ओखलढुङ्गा जिल्ला र तराईले छोएको सिन्धुली जिल्लाको विचको १५४६ वर्ग कि.मि.को यो जिल्ला पर्याप्त स्रोत र साधन भएर पनि उपेक्षित अवस्थामै छ । रामेछापलाई तीनलालको जिल्ला भनेर पनि चिनिने गरिन्छ । नेपाली साहित्यका प्रथम सहित सुब्बा कृष्णलाल अधिकारी, सहिद गंगालाल श्रेष्ठ र नेपाल कम्प्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछापमै भएको हो । रामेछापले नेपाली राजनीतिक कला साहित्य उद्योगी व्यापारी विद्वान साँस्कृतिक कर्मी संचार कर्मी सबै प्रतिभा जन्माएको छ । भौगोलिक हिसाबमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्ये एक हो । वि.सं. २०५६ को विकेन्द्रीकरण नियमावली अनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमा नै पर्दछ । यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८ उत्तरी आक्षंस देखी २७ डिग्री ५० उत्तरी सम्म र ८५ डिग्री ५० पूर्वी देशान्तर देखि ८६ डिग्री ३५ पूर्व सम्म फैलिएको छ । मध्य महाभारत पर्वत श्रृंखलादेखी उच्च हिमाली श्रृंखलासम्म विस्तारित रामेछाप जिल्लाको भु–बनोट समुद्रि सतह देखी ४२६ मिटरको उचाईदेखि ६९५८ मिटरको नुम्बुर हिमाल चुलीसम्म फैलिएको छ । नेपाल सरकारको मिति २०७३ फागुन २७ गतेबाट लागु हुने गरी यस रामेछाप जिल्लालाई ८ वटा स्थानीय तहमा र २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।साबिक ७ गाविस समेटेर बनेको  गाउँपालिकाको कुल क्षेत्रफल १४०.८८ वर्ग कि.मि. रहेको छ । यस गाउँ पालिकाको केन्द्र दोरम्बा-३, थामचौर रहेको छ । यस गाउँपालिकाको सिमा उत्तर मा दोलखा जिल्ला दक्षिणमा सिन्धुलि , पश्चिममा काभ्रेपलान्चोक , पुर्बमा ओखलढुंगा र सोलुखुम्भु  रहेको छ | 

रामेछाप जिल्लामा विद्यमान ६ स्थानीय तहहरु मध्ये दोरम्बा गाउँपालिका जिल्लाको उत्तरी पश्चिम भागमा अवस्थित रहेको छ । साविक डडुवा, दोरम्बा, टोकरपुर, गोश्वारा, लखनपुर र गुन्सी गरी ६ वटा गाविस मिलेर बनेको यो गाउँपालिका १४०.८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । ३ नं. प्रदेश अन्तरगत पहाडी विशेषता बोकेको यो गाउँपालिको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकासका संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ|

भौगोलिक अवस्थिति

समुन्द्री सतहका करिब ७१५ मिटर देखि ३१३८ मिटर सम्मको उचाईमा रहेको दोरम्बा गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २७ डिग्री २८ मिनेट ४१ सेकेण्ड देखि २७ डिग्री ३६ मिनेट ५२ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री ४९ मिनेट २७ सेकेण्ड देखि ८६ डिग्री १ मिनेट ३० सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । दोरम्बा गाउँपालिका रामेछाप जिल्लाको उत्तर पश्चिम भागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा मन्थली नगरपालका र दोलखा जिल्ला, पश्चिममा काभ्रेपलान्चोक जिल्ला, सुनापती गाउँपालिका र खाँडादेवी गाउँपालिका र उत्तरमा दोलखा जिल्लासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफलको ८.९९ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको क्षेत्रफल १४०.८८ वर्ग किमी रहेको छ ।

ऐतिहासिक चिनारी तथा नामाकरण

दोरम्बा गाँउपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकृतिक रुपले यस प्रदेशमा फरक विषेशता बोकेको क्षेत्र हो । साविक दोरम्बा क्षेत्र अन्र्तगत रहेका डडुवा, दोरम्बा, टोकरपुर, गोश्वारा, लखनपुर र गुन्सी गाविस मिलाएर वि.सं. २०७३ सालमा दोरम्बा गाउँपालिकाको गठन गरिएकोे हो । यो गाउँपालिका ऐतिहासिक तथा पर्यटकीय महत्वको विशेषता बोकेको प्रमुख क्षेत्र मध्येको एक हो । विशेष गरी धार्मिक तथा ऐतिहासिक महत्व रहेका अग्लेश्वर, शैलुङ्ग, सानो शैलुङ्ग, कण्ठेश्वर मन्दिर र ब्रह्मा विष्णु अझै विद्यमान छन् । यहाँ आदिवासी जनजातिहरुको बाक्लो बसोवास रहेको छ । दोरम्बा शब्द पनि आदिवासी जनजाति तामाङ भाषा तथा संस्कृतिसँग सम्बन्धित छ । तामाङ भाषामा दो को अर्थ ‘दुई’ र रम्बा को अर्थ ‘माने’ भन्ने हुन्छ । माने तामाङ संस्कृति अनुसार पुजा गर्ने पवित्र ठाउँ हो । यसरी तामाङहरुको दुई वटा माने भन्ने अर्थमा दोरम्बा हुन भएको र पछि यो ठाउँको नाम नै दोरम्बा कायम हुन गएको हो भन्ने जनविश्वास छ । यही दुई वटा पुजा गर्ने पवित्र ठाउँ अर्थात दोरम्बा ठाउँको नामबाट नै यस गाउँपालिकाको नामाकरणका गरिएको देखिन्छ । 

 धरातलीय अवस्था 

३ नं. प्रदेश अन्र्तगत रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका पहाडी तथा उच्च पहाडी धरातलीय स्वरुपमा रहेको छ । यस क्षेत्रमा धरातलीय स्वरुपका हिसाबले ठूलो शैलुङ्गमा हिउँ पर्ने देखि बेसीमा रजमन्टार, लखनपुर, धान फल्ने प्राकृतिक स्रोत खाद्यान्नको भरीपूर्ण हरियाली भूभाग, सामान्य भिरालो र चट्टानी क्षेत्रले ओगटेको छ । सामान्य अग्ला र भिराला पहाडी श्रृखलाले बनेको यस गाउँपालिकामा भिरपाखा बसोबासको क्षेत्र सहितको विविधतायुक्त धरातलिय अवस्थिति रहेको छ । अधिकांश भिरालो क्षेत्रमा वन जङ्गलले धाकेको छ भने केही क्षेत्र उजाड डाँडाका रुपमा रहेका छन् । 

प्राकृतिक सम्पदा 
 

गाउँपालिकालाई मुलप्रवाह क्षेत्र बनाएर अविरल रुपमा बगिरहने चौरी खोला, घट्टे खोला र धोवी खोला यहाँको मुख्य प्राकृतिक सम्पदाहरु हुन् । सिंचाइको मुख्य श्रोतको रुपमा रहेका यी खोलाबाट यस क्षेत्रको तल्लो वेसी क्षेत्रको जमिनमा सिंचाइ सेवा उपलब्ध रहेको छ । जैविक विविधताका हिसावले पर्वतीय चिसो हावापानीमा पाइने जीव तथा वनस्पतिहरुमा पाखनवेद, कटुकी, सतुवा, विषजडा, चौरी, भेँडा, गोरू, भैँसि, बाख्रा, रागाँ, डाँफे, कालिज, मृग, भालु, चितुवा, खरायो, भंगेरा, बाघ, काग, मयुर मुख्य रुपमा रहेका छन् । यसका अलावा पहाडको माथिल्लो भागका अधिकांस स्थानमा वन तथा खर्कहरु रहेका छन् भने चुन ढुङ्गा र तामा खानी लगायतका खनिजहरु यस क्षेत्रमा पाइन्छ । 

साँस्कृतिक उत्कृष्टता

मगर, तामाङ्ग, शेर्पा लगायतका आदीबासी जनजातीहरुको बाहुल बसोबास क्षेत्रको रुपमा रहेको यस गाउँपालिका हिन्दु सँस्कृतिको अनुपम संगम स्थलका रुपमा रहेको छ । आदीबासी जनजाती, क्षेत्री, ब्राम्हण, दलित जातीको मिश्रित बसोवास रहेको यस गाउँपालिकामा मुख्य कामकाजी तथा बोलिचालीको भाषा नेपाली रहेको पाइन्छ । धार्मिक रुपमा हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको उच्च बाहुल्यता रहेको यो क्षेत्रमा मनाइले चाडपर्वहरुमा दशैं, तिहार, ल्होछार, भाद्र पुर्णिमा मेला, कुखुरे आहाल पुर्णिमा मेला, सानो शैलुङ्ग, पौष पुर्णिमा मेला, पुडिघ्याङ श्रावण पुर्णिमा मेला, ठूलो शैलुङ्ग एकादशी अग्लेश्वर मेला आदि रहेका छन् । धार्मिक तथा भाषिक रुपमा करिव एकरुपता रहेको यो क्षेत्रमा चाडपर्वका समयमा गरिने बिभिन्न क्रियाकलापहरुले यहाँको सामाजिक र साँस्कृतिक उत्कृष्टता झल्काउने गर्दछन् । भेषभुषाका रुपमा आदीबासी जनजाती समुदायको आफ्नै खालको पहिरन रहेको छ भने अन्य जातीमा पुरुषहरुले मुख्य रुपमा दौरा, सुरवाल, टोपी तथा कोट र महिलाले गुन्यु चोली, पटुकी र बुलाकी लगाउने गर्दछन् । यस गाउँपालिकामा अग्लेश्वर, शैलुङ्ग, सानो शैलुङ्ग, कण्ठेश्वर मन्दिर, ब्रह्म्माविष्णु जस्ता धार्मिक स्थल महत्वपूर्ण सांस्कृतिक सम्पदाहरु हुन् ।  

 

वडा पदाधिकारी